सरकारलाई भ्रष्टाचार र तस्करका संरक्षकले घेराबन्दीमा पार्न खोजिरहेको गृहमन्त्रीको भनाइ, कसैले धम्की दिँदैमा नडराउने चेतावनी

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दीमा पार्न खोजिरहेको बताएका छन् ।

आज गोरखा अजिरकोटमा भच्चेक आधारभूत अस्पतालको उदघाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताएका हुन ।

उनले सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भन्ने नसोच्न चेतावनी समेत दिए । आफु पदका लागि नभएर देश र जनताको सेवा गर्न मन्त्री बनेको दाबी गर्दै मन्त्री श्रेष्ठले सरकारमा रहदासम्म सुशासनको अभियान नरोकिने बताए ।

नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया