क्षमता भन्दा तेब्बर कैदीबन्दी पुगे पछि व्यवस्थापनमा कठिनाइ

चितवन । जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते ७५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्त सम्ममा ८१५ कैदीबन्दी रहेको कारागार कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार थपिएका कैदीबन्दीमा लागूऔषध र चोरी मुद्दाका बढी रहेका छन् । कारागारमा कैदीबन्दी थपिए सँगै व्यवस्थापनमा कठिनाइ भएको उनले बताए । उनका अनुसार कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी रहेका छन् । हाल २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४९ र २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ७६६ जना रहेका छन् । उनीहरु सँग ३ जना आश्रित बालबालिका पनि रहेका छन् ।
 
यहाँ छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट समेत कैदीबन्दी ल्याउने हुँदा चाप बढेको उनले बताए । अहिले सम्म व्यवस्थापन गरिएको भए पनि अब कैदीबन्दी बढ्दो क्रममा आए व्यवस्थापनमा कठिनाइ हुने उनले बताए । उनले भने, “चार्डपर्व सकिए लगत्तै कैदीबन्दी आउने क्रम तीव्र हुने गरेको छ ।”

अहिले कारागारमा मौसममा आएको परिवर्तन सँगै ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका छन् । आचार्यका अनुसार अहिले २०–२५ जना रुघाखोकीका बिरामी रहेका छन् । उनीहरुलाई स्वास्थ्य शाखा बाट निगरानीमा राखेर उपचार गरिएको छ । भीड भाड हुने क्षेत्र भएकाले रोग फैलन सक्ने उनले बताए । 

कार्यालयले कैदीबन्दीका लागि आवश्यक न्यानो कपडा वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए । 
रासस 

प्रतिक्रिया