मनपरी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई कारबाही गर्ने पर्यटन मन्त्री पाण्डेको चेतावनी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डले दिएका हुन् । मन्त्री पाण्डेले उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन समेत दिएका छन् ।
मन्त्री पाण्डेले हवाई भाडा वृद्धि बारे आफूले परराष्ट्र मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरण सँग छलफल गरिसकेको बताए । तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरु सँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनको भनाइ छ ।
सस्तो टिकट कतिको र महंगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए । गत शुक्रबार देखि दैनिक दश घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भए देखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।
भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको मन्त्री पाण्डेले उल्लेख गरे ।
प्रतिक्रिया