एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता देखाएको अर्थमन्त्रीको आरोप
अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन । आज जनकपुरमा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समय–समयमा अनावश्यक बहानामा संसद अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताएका हुन । अर्थमन्त्री महतले संसद भनेको समसामयिक विषयमा सहन रुपमा छलफल गर्ने,ऐन कानूनहरु बनाउने थलो भएपनि त्यस्तो बन्न एमालले नदिएको आरोप लगाए । सरकारमा नहुने बित्तिकै संसदलाई असहज बनाउने मानसिकता राख्न नहुने उनले बताए ।
अर्थमन्त्री महतले सरकारले संघीयताको मर्म अनुसार ऐन कानूनहरु बनाउने संसदमा विधेयक प्रश्ताव गर्ने तयारीमा भएपनि एमालेले संसद अवरुद्ध गर्दा नसकिएको बताए । संघीयता, संघीय कानून, संसद र कार्यपालिका चुस्त बनाएर प्राप्त उप्लब्धी बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेको उनको भनाइ छ । सरकार प्रति असहमति रहेका विषयमा संसदभित्रै छलफल गरेर निस्कर्षमा पुग्नुपर्ने मन्त्री महतले उल्लेख गरे । सहज रुपमा सरकार बन्ने बनाउने कुरा संसदको सर्वाधिकार भएको भन्दै सांसदहरुले जसलाई बहुमत दिएर सरकार बनाउँछ त्यसलाई सहज रुपमा स्वीकार गर्नु एमालेले सक्नुपर्ने पनि उनले उल्लेख गरे । अर्थमन्त्री महतले आर्थिक श्रोतहरु पर्याप्त जुट्न नसकेकाले मधेस सहितका लक्षित भुगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताए ।
प्रतिक्रिया