सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिए पछि निजी विद्यालय विस्थापित

पर्वत सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थाले पछि पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन्। यहाँका सात पालिका मध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो। अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन्।


महाशिलामा जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा प्राथमिकता दिएपछि यहाँका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन्।

हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाका नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका पनि लामो समय विद्यालयमा नटिक्ने समस्या पछि गाउँपालिकाले सामुदायिक विद्यालय बाट नै निजी विद्यालय सरहको शिक्षा दिन थालेपछि यस्तो हुन गएको दाबी गरेको छ।

गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले भने,“सुरुमा कक्षा १ देखि ३ सम्म दिवाखाजा कार्यक्रम सुरु गर्‍यौं, यसले विद्यार्थीको टिकाउदर बढ्यो । पछि सरकारले कक्षा ५ सम्म दिवाखाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढयो । साथै अहिले कक्षा नर्सरी देखि १० सम्म नै सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरेपछि सामुदायिक विद्यालय नै अभिभावको रोजाइमा परे ।”

भुसालले पछिल्लो समय जिल्लाभरमा निजी विद्यालय नहुने पालिका बनाउन सफल भएको बताए। गाउँपालिकाले अङ्ग्रेजी भाषा प्रतिको मोह देखेर यहाँका सबै विद्यालयमा अङ्ग्रेजी माध्यम बाट पढाइ शुरू  गरेको र बोर्डिङ स्कुलले दिने शिक्षा सामुदायिक बाट नै दिन थालिए पछि गाउँपालिकालाई निजी विद्यालय बिहीन बनाउन सकिएको सुनाए। त्यसका लागि विद्यालयमा रहेका नयाँ तथा पुराना शिक्षकलाई आवश्यक तालिम दिएर मासिक रूपमा उपलब्धि मापन परीक्षा पनि लिने गरिएको अध्यक्ष भुसालले बताए।

यसका साथै यहाँ परीक्षा प्रणालीमा पनि सुधार गरिएको छ। शिक्षक आफैंले प्रश्न तयार गर्दा नतिजा राम्रो नआउने भएकाले बाहिर बाट विषयविज्ञ बोलाएर प्रश्नपत्र तयार गर्ने र शिक्षकको नभई कर्मचारीको रोहबरमा परीक्षा लिने तथा नतिजा विश्लेषण गर्ने गरिएको छ।

गाउँपालिकाले तीन वटा विद्यालयलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गरेको छ। १ नम्बर वडामा रहेको गोल्र्याङधाम आधारभूत मा.वि., ४ नम्बर वडा स्थित पाखापानीमा रहेको स्वधर्म मा.वि. र ५ नम्बर वडा स्थित लङ्खुदेउरालीमा रहेको महेन्द्रज्योती मा.वि.लाई पूर्ण तथा आंशिक रूपमा आवासीय विद्यालय सञ्चालन गरी बिहान ६ देखि साँझ ६ बजेसम्म विद्यार्थीलाई विद्यालयमै राख्ने, पढाइ सँगै अतिरिक्त क्रियाकलाप सिकाउने गरिएको छ। पालिकाले यस वर्ष देखि आवासीय विद्यालय थप गर्ने योजना बनाएको छ।

आवासीय विद्यालयमा परिचालन हुने शिक्षकलाई गाउँपालिकाले तलबको थप ३५ प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ। त्यसैगरी एक शिक्षक एक ल्यापटप र एक कक्षा एक प्रोजेक्टर कार्यक्रम लागू गरेर प्रविधिमैत्री शिक्षा दिन थालिएको छ।

यसैगरी यस गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य सम्बन्धी अध्ययन गर्नेलाई वार्षिक एक लाखका दरले चार वर्ष सम्म अनुदान दिँदै आएको छ भने विज्ञान र गणित पढाउने शिक्षकको अभाव भएपछि गाउँपालिका भित्र बाट उच्च शिक्षामा विज्ञान र गणित तथा नर्सिङ पढ्ने विद्यार्थीलाई वार्षिक ५० हजारका दरले चार वर्ष सम्म सहयोग गर्ने कार्यक्रम पनि लागू गरेको छ। उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिए पछि न्यूनतम् दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको छ।

पालिका भित्रका सामुदायिक विद्यालयमा गुणस्तर सुधार भएपछि बालबच्चा पढाउन बजार झर्ने क्रम पनि रोकिएको गाउँपालिकाका पूर्वप्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए। उच्चैले आफैंले सञ्चालन गरेको लङ्खुदेउराली आवासीय बोर्डिङ स्कुललगायत अन्य वडामा रहेका गरी चारवटा निजी विद्यालय बन्द भइसकेको जानकारी दिए। 
रासस 

प्रतिक्रिया