७ हजार जनालाई आँखा उपचार सेवा
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० झलारी स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सात वर्ष देखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ ।
शुक्लाफाँटा नगरपालिका, धनगढी स्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको हो । हप्ताको छ दिन केन्द्र सञ्चालन हुँदै आएको छ ।
सहकारीका अध्यक्ष शिवराज भट्टका अनुसार केन्द्र बाट एक वर्षमा सात हजार एक सय ८२ जनाले सेवा लिएका छन् । केन्द्रमा उपचार गर्न आएका आर्थिक रूपमा विपन्न ६ सय ४१ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
केन्द्र बाट आँखा जाँच, औषधि वितरण, परामर्श र चश्मा उपलब्ध गराउने व्यवस्था छ । शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडामा सञ्चालित शिविर बाट ३ हजार ३ सय २७ जनाले सेवा लिएका छन् । शिविरमा आँखा जाँचका लागि पुगेका मोतियाबिन्दुका २ सय ५५ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा पुगेका ७ सय २३ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ ।
रासस
प्रतिक्रिया