बाढी पीडितलाई सघाउँदै रोशी गाउँपालिका
काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकाले बाढी पीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम शुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढी पीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो ।
गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा २ करोड ८० लाख, विनियोजन गर्दै आवश्यकता अनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ ।
उक्त पालिकामा बाढी पहिरोमा परी १२ जनाको ज्यान गएको थियोभने ४ सय ८२ घरमा पूर्ण र ८ सय ८३ घरमा आंशिक क्षति भएको थियो । यसैगरी, २ हजार ५ सय ४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो । बाढीले १ सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, ६ सय ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो ।
रासस
प्रतिक्रिया