माछापालन बाट मनग्य आम्दानी गर्दै हरिराम
कञ्चनपुर । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरेका छन् । डेढ दशक अघि सम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो ।
विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थाले । माछा बिक्री बाट राम्रो आम्दानी हुन थाले पछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालन तर्फ लागे। “शुरुआतमा बुबाले धानखेती हुँदै एक÷दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरियो”, हरिरामले भने ।
विसं २०७२ मा बुबा चन्द्रलालको निधन भए पछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो । बुबा जीवित हुँदा शिक्षण पेसा सँगै माछापालन सघाइरहेका उनी बुबाको निधन पछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय भए । माछापालन बाट वार्षिक ३० लाख आम्दानी गर्ने गरेको हरिराम सुनाउछन् । “धान, गहुँखेती भन्दा पनि माछापालनमा राम्रो आन्दानी छ”, उनले भने, “माछाको सङ्ख्या अनुसार आम्दानी हुन्छ । मैले वार्षिक ३० लाख लाख सम्म आम्दानी गर्ने गरेको छु ।”
एक माछा एक किलोग्राम तौलको हुनका लागि एक देखि सवा किलोग्राम सम्म दाना खपत हुने गरेको छ । दश बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालन बाट वार्षिक सात–आठ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिराम बताउछन् ।
माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ । माछाको भुरा र दाना भारत बाट ल्याउने गरेको उनको भनाइ छ । हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन् । नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारत बाट ल्याउनुपर्ने बाध्यता छ । नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए ।
हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ । उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेकी छन् । छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एम.बी.बी.एस.को अन्तिम वर्षमा अध्ययरत छिन् । छोरा काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन् ।
“शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्न तर्फ लागिएन । तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो । अहिले माछापालन बाट पनि राम्रै भएको छ”, हरिरामले भने, “सरकारी जागिरे नहुँदा पनि केही छैन । माछापालनले सन्तुष्टि दिलाएको छ ।”
रासस
प्रतिक्रिया