दुर्गम क्षेत्रमा अतिरिक्त समयमा पनि उडान भर्न दिने प्राधिकरणको निर्णय
हवाई उडान अवरुद्ध हुँदा कर्णाली प्रदेशमा चार जनाले ज्यान गुमाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा १२ बजेपछि निश्चित मापदण्ड पालन गरेर उडान अनुमति दिने भएको छ । आज प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित छोटो उडान र अवतरण हुने एसटीओएल’ विमानस्थलहरुमा उडानका लागि शर्तसहित खुला गरेको हो । दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले उडानमा रोक लगाउनुपरेको स्पष्टीकरण समेत दिएको छ ।
विमानस्थलमा भएको मौसमको भिएमसि मिनिमा कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नेपालगञ्ज विमानस्थलमा अनिवार्य रुपमा उडान सञ्चालन अधिकारीको व्यवस्था गर्नुपर्ने र उडान सञ्चालनको सम्पूर्ण कार्य सोही अधिकारीमार्फत गर्नुपर्ने पनि जनाएको छ । त्यस्तै विमानस्थलहरुको सञ्चालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदर मौसमको उपलब्धताबारे अध्ययन गर्न उपमहानिर्देशकको संयोजकत्वमा समिति पनि गठन भएको छ । दुर्गम हिमाली जिल्ला हुम्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकले ज्यान गुमाएका थिए । हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान पहाडी र हिमाली जिल्लामा समस्या बढेको भन्दै प्राधिकरणको निर्णयको बिरोध भएको थियो । निर्णय सच्याउन माग भइरहदा प्राधिकरणले शर्तसहित खुला गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया