सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितकी आमाको जन्म मिति खुल्ने कागजात माग

क्रिकेटर सन्दीप लामिछानेको नाबलिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीकी आमाको जन्म मिति खुल्ने कागजात मगाउन निर्देशन दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाले आज पीडित किशोरी र उनकी आमाको उमेर अन्तर अस्पष्ट भएकाले उमेर खुल्ने कागजात मगाएका हुन् । इजलाससमक्ष पेश भएको बलात्कृत किशोरीको आमाको जन्म मिति दुईवटा देखिएपछि विवाद कायम छ । आमाले नौ वर्षको उमेरमा किशोरीलाई जन्म दिएको भनेर जन्ममिति पेश भएपछि अदालतले यस्तो आदेश दिएको हो । अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्रै पेशी तोक्ने जानकारी पनि गराएको छ । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गत वर्ष भदौमा जाहेरी दिएकी थिइन् । सो मुद्दामा जिल्ला अदालत काठमाडौंमा भएको सुनुवाइ पटक पटक सरेका कारण हालसम्म अन्तिम फैसला आएको छैन । 

प्रतिक्रिया