माल्टामा घुम्ती सेवा शिविर सञ्चालन हुने

लिस्बन ।  राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा घुम्ती सेवा शिविर सञ्चालन हुने भएको छ । शिविर सञ्चालन गर्न राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने भएको छ ।माल्टाको बिरकिरकरामा घुम्ती सेवा शिविर सञ्चालन गरेर राहदानी नवीकरण लगायतका कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन टोली यही नोभेम्बर ३० तारिखमा माल्टा जाने दूतावासले जनाएको छ ।

राहदानी नवीकरण लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई माल्टाबाटै सेवा प्रदान गर्ने उद्देश्यका साथ टोली पठाउन लागिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिए ।टोलीले आगामी डिसेम्बर ४ तारिखसम्म माल्टामा रहेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा दिने कार्यवाहक राजदूत पौड्यालले बताए ।

पाँच दिनसम्म चल्ने उक्त शिविरमा तीन कर्मचारी खटिने उनले बताए । टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएको र माल्टामै जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गर्ने तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने जनाएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि २५ नोभेम्बरभित्र अनलाइन आवेदन फारम भरिसक्न र शिविरबाट राहदानी नवीकरण लगायतका आवश्यक सेवा लिन आग्रह गरेको छ । माल्टामा नेपाली दूतावास नभएका कारण विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया