टीकापुर घटनाको पूर्णपाठ सार्वजनिक, निर्दोष र निहत्था नागरिकको सामूहिक हत्या राजनीतिक घटना नहुने स्पष्ट

सर्वोच्च अदालतले टीकापुर नरसंहारको पूर्णपाठ सार्वजनिक गर्दै निर्दोष र निहत्था नागरिकको अकारण सामूहिक हत्या गर्नु राजनीतिक घटना नहुने स्पष्ट पारेको छ । रेशमलाल चौधरी लगायतका व्यक्तिहरु प्रतिवादी रहेको टीकापुर घटनाको २ सय ३० पृष्ठ लामो पूर्णपाठ सार्वजनिक गर्दै अदालतले आपराधिक घटनालाई राजनीतिक आवरण दिएर अपराध गर्नेलाई राज्यले नै संरक्षण गर्न नहुने स्पष्ट पारेको हो । अदालतले राजनीतिक घटना र आपराधिक घटनामा भिन्नता रहेको, आपराधिक घटनालाई राजनीतिक घटना भन्दै टिकापुर घटनामा उन्मुक्ति दिन नमिल्ने नजिरसहितको फैसला दिएको हो । फैसलामा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन पाउने लोकतान्त्रिक अधिकार भए पनि शान्तिपूर्ण बाटो छाडेर हिंसात्मक बाटो रोज्छ भने त्यहाँ फौजदारी कानुन आकर्षित हुने उल्लेख गरिएको छ । त्यस्तै राजनीतिक शक्तिको आडमा आपराधिक कार्यलाई राजनीतिक रुप दिने अपराधको राजनीतिकरण गर्ने जोखिम विधिको शासन सुदृढ भइनसकेको देशमा रहिरहने भन्दै त्यसलाई कानुनद्वारा नै स्पष्ट पार्नुपर्ने फैसलामा उल्लेख छ । फौजदारी कसुर आकर्षित हुने अपराधलाई राजनीतिक प्रकृतिको अपराध मानियो भने भविष्यमा फौजदारी कसुर राजनीतिक उद्देश्य प्राप्त गर्ने औजारका रुपमा प्रयोग हुने भन्दै त्यसतर्फ समेत अदालतले सचेत गराएको छ । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ९ जनाको हत्या भएको थियो । सो घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेको थियो ।  सर्वोच्चले केही प्रतिवादीको हकमा सजाय परिर्वतन गर्दै रेशमसहितका प्रतिवादीको हकमा भने जिल्ला र उच्चको फैसला सदर गरेको छ । जन्मकैद सदर भएलगत्तै जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसिमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी सजाय माफी दिएका थिए ।।
 

प्रतिक्रिया