युद्धविराम प्रस्ताव भइरहँदा लेवनानमा इजरायली आक्रमण तीब्र

एजेन्सी । लेवनानमा रहेको मुस्लिम लडाकु समूह हिजबुल्लासँग नयाँ युद्धविराम प्रस्तावमा बिचार भइरहेका बेला इजरायलले बेरुतमा आक्रमण गरेको छ । 

हिजबुल्लाहले नयाँ युद्धविराम प्रस्तावको प्रतिक्रियालाई विचार गर्दा शनिबार बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरूलाई लक्षित गरी तीव्र इजरायली आक्रमणहरू भएका छन् । हिजबुल्लाहको गढ रहेको बेरुतको दाइयेह क्षेत्रमा इजरायली हमला भएको हो । बिगत पाँच दिनदेखि इजरायलले हिजबुल्लाहको गढमा आक्रमण केन्द्रित गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली आक्रमणका कारण ती क्षेत्र प्रभावित भएको बताएको छ ।

लेवनानी संचार माध्यमहरुका अनुसार क्षतिग्रस्त भवनहरूबाट धुवाँको ठुलो मुस्लो उडिरहेको थियो। इजरायली आक्रमणबाट कोही हताहत  भए नभएको स्पष्ट हुन सकेको छैन । इजरायली डिफेन्स फोर्सले भने  हिजबुल्लाहको पूर्वाधारलाई निशाना बनाएको जनाएको छ ।  इरान समर्थित हिजबुल्लाहले लेवनानका नागरिकको घना बस्ती भित्र छिरेर उनीहरुलाई मानव ढालको रुपमा प्रयोग गरेको आरोप इजरायलको रहेको छ । आक्रमण हुनुअघि इजरायलले लेवनानी नागरिकहरुलाई ती स्थानहरू खाली गर्ने आदेश जारी गरेको थियो।

इजरायलले हालैका दिनहरूमा बेरुतमा  आफ्नो हमलालाई तीव्र पारेको छ । दक्षिणी लेबनानमा आफ्नो स्थल सेना परिचालन विस्तार गरेको छ। 

लेबनानका लागि अमेरिकी राजदूत लिसा जोनसनले बिहीबार राति लेबनानी सरकारलाई नयाँ अमेरिकी–इजरायली युद्धविराम प्रस्ताव गरेपछि हिजबुल्लाहले त्यसबारे प्रतिक्रिया जनाएको छैन । 

अधिकारीहरू “आशावादी“ छन् कि हिजबुल्लाह सम्झौताका सर्तहरूमा सहमत हुनेछन् ।  सोमबार नवीनतम प्रस्तावमा हिजबुल्लाहले आधिकारिक प्रतिक्रिया पेश गर्ने अपेक्षा गरिएको छ ।  

लेबनानमा तीब्र इजरायली आक्रमणले युद्धविराम वार्तालाई असर गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन। बिहीबार मात्रै, इजरायली हवाई आक्रमणमा लेबनामा  ५९ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 

प्रतिक्रिया