बौद्ध धर्मावलम्बीको एक महिने गुउँला पर्व शुरु

दिवंगत आफन्तको सम्झनामा विहार तथा चैत्य परिक्रमा गर्ने प्रचलन

 

नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँउला पर्व आजदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुउँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गर्ने गरिन्छ । आजबाट शुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । 
गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँउला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । खेतीपाती सकेर मानिसहरु फुर्सद हुने र अन्य चाडवाडलाई पनि मध्यनजर गरी खुशीयाली साट्ने पर्वका रुपमा यसलाई लिइन्छ । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाइन्छ । 
गुँउला पर्वमा बौद्धमार्गीले विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् । गुँउला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँउला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।

प्रतिक्रिया