हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध

हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । बेसीशहर–चामे सडकअन्तर्गत लमजुङका विभिन्न स्थानमा पहिरो गएपछि सडक अबरुद्ध भएको हो । एक साताभन्दा लामो समयदेखि सडक खण्डमा आवतजावत रोकिएको छ । सडकखण्डको लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरो खसेको छ । केही ठाउँमा सडकको ट्रयाक नै भासिएको छ । सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको सडक विभागले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरा पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको विभागको भनाइ छ । सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहदा झनै समस्या भएको छ । यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरा खसेका छन । लमजुङतर्फको ३५ किलोमिटर सडकमा पहिरो धेरै खसेका छन । डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरा खसिरहने गरेको छ । 
 

प्रतिक्रिया