‘कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ’

बाजुरा । सुदूरपश्चिम प्रदेशका भूमि, कृषि तथा सहकारी विकासमन्त्री वीरबहादुर थापाले प्रदेश सरकार कृषिमा आत्मनिर्भर हुने गरी काम गरिरहेको बताएका छन् ।  आज शनिबार कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्तरुपमा आयोजनमा कृषि बजार तथा कोल्ड च्याम्बर हस्तान्तरण कार्यक्रममा कृषि क्षेत्रको प्रवर्द्धन र आधुनिक कृषितर्फ लैजाने गरी सरकारले निती तथा कार्यक्रम नै ल्याएको बताए ।प्रदेशका पहाडी जिल्लामा कृषि क्षेत्रको सम्भावना रहेकाले सात जिल्लालाई पहिलो प्राथमिकतामा राखेको मन्त्री थापाले स्पष्ट पारे ।

उनले कृषि क्षेत्रको लगानी बढाएर कृषकलाई स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली र आधुनिक कृषिमा प्रवर्द्धन गर्ने गरी सरकारले नीति लिएको धारणा व्यक्त गरे । मन्त्री थापाले सुदूरपश्चिम प्रदेशमा ८४ प्रतिशत नागरिक कृषि पेसामा संलग्न रहेकाले कृषिमा आबद्ध रहेको दाबी गरे । प्रदेश सरकारले कृषि क्षेत्रलाई नै पहिलो प्राथमिकता राखेर काम गर्ने सरकार तयार रहेको उनको भनाइ छ । “कृषिमा लगानी गरेर उत्पादन गरिएको वस्तु सहज रुपमा बजारसम्म पुर्याउन र बजारमा पुगे बिक्री गर्न समस्या र बाँझो जमिन उपयोगमा नहुने नै मुख्य समस्या भएको हो”, उनले भने ।पहाडी जिल्लामा बाझो रहेको जमिनलाई उपयोग गरी युवालाई स्वरोजगार बनाउने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको जिकिर थियो ।

कृषि बजार तथा कोल्ड च्याम्बर पालिका र जिल्लाभरिका कृषकहरुले उत्पादन गरेका रैथाने बाली र अन्य उत्पादनको व्यवस्थापन गर्ने गरी निर्माण गरिएको हो । नगरपालिकाको रु १२ लाख १५ हजार ४७१ र कृषि विकास निर्देशनालय डोटीको रु ४१ लाख १९ हजार ९८४ गरी रु ८५ लाख एक हजार ८४० को लागतमा निर्माण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले जानकारी दिए । 

उनले कृषि बजारमा कृषकले उत्पादन गरेर ल्याएका तरकारी तथा खाद्यान्न बाली बिक्री र उनीहरुलाई चिस्यान केन्द्र(कोल्ड स्टोर)मा राख्ने गरी खरिद बिक्रीको कार्य हुने बताए । कोल्ड स्टोर निर्माणपछि कृषकले उत्पादन गरेका फलफूल, तरकारी, रैथाने बालीको एकै ठाउँबाट बिक्री वितरणमा सहज हुने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

सो केन्द्र विसं २०७६ मा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरिएको हो । कृषि उपज सङ्कलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पुर्‍याउने कृषि ज्ञान केन्द्रका प्रमुख उपाध्यायले बताए । चिस्यान केन्द्रसहित कृषि हाट बजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
 

प्रतिक्रिया