’विवादित’ व्यक्तिलाई ट्रम्पले मन्त्रिपरिषदमा छानेको भन्दै आलोचना

एजेन्सी । यही ५ नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषदका लागि बिविादित व्यक्तिहरु छानेपछि व्यापक आलोचना भएको छ । 

खास गरी ट्रम्पले  रक्षामन्त्रीमा छानेका पिट हेग्सेथ, ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्ज र स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअरका बारेमा आलोचना खेप्नु परेको छ । यद्यपि ट्रम्पले अफ्नो निर्णयको बचाउ गरिरहेका पनि छन् । 

ट्रम्पले आफ्नो भावी रक्षामन्त्रीका रूपमा छानेका पिट हेग्सेथमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो।  हेग्सेथमाथि सन् २०१७ मा क्यालिफोर्निआमा एउटा यौन दुर्व्यवहारसम्बन्धी मामिलामा अनुसन्धान गरिएको बताएको छ।फक्स न्यूजका प्रस्तोता समेत रहेका उनले विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका थिए। त्यस क्रममा उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। तर हेग्सेथले भने यौन दुर्व्यवहार गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन्। हेग्सेथलाई सन् २०२१ मा राष्ट्रपति जो बाइडनको पदभार ग्रहणका बेला वाशिङ्टन डीसीमा अधिकृतका रूपमा सेवा गर्नबाट रोक लगाइएको थियो।

त्यस्तै ट्रम्पले महान्यायाधिवक्ताका लागि चयन गरेका म्याट गेट्जमाथि पनि  नैतिक पतन सम्बन्धी काम गरेको भन्दै अनुसन्धान गरिएको थियो। उनी कङ्ग्रेस सदस्य हुँदा यौन दुर्व्यवहार गरेको आरोपको सामना गरिरहेका छन्। अमेरिकी न्याय मन्त्रालयको नेतृत्वका लागि ट्रम्पले मनोनयन गरेको केही घण्टाभित्रै उनले गत बिहीवार अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभको फ्लोरिडा सीटबाट राजीनामा दिएका छन्। उनीबारे यौन दुर्व्यवहार, घुस र अवैध लागुऔषध प्रयोगबारे आरोपहरूको अनुसन्धान गरी तयार पारिएको संसदीय प्रतिवेदन सार्वजनिक गर्न रोकिएको छ।

यस्तै ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर स्वास्थ्य खोपप्रति आशङ्का गर्ने व्यक्ति भएका जनाइएको छ । सङ्क्षिप्त नाम आरएफके जूनिअरबाट पनि चिनिने केनडीले खोपप्रति आशङ्का व्यक्त गर्दै र बोल्दै आएका छन्।“बिग फर्मा“ भनिने ठूला औषधि कम्पनीप्रति कडा नीति लिने वाचा गर्दै आएका उनलाई स्वास्थ्यमन्त्रीका रूपमा घोषणा गरिएपछि विश्वभरिका खोप निर्माता तथा स्वास्थ्य सेवा दिने कम्पनीहरूको सेयर बजार निकै घटेको जनाइएको छ । 
 

प्रतिक्रिया