चुनावी गठबन्धनको तयारीमा माओवादी र समाजवादी, ओलीको सुशासनले त्रसिएकै हुन् त?

काठमाडौं । ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध दलहरुबीच मिलेर जाने सहमती भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धनका लागि भित्रभित्रै छलफल गरिरहेका छन् । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा माओवादी र एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका हुन् ।

सत्ता सहकार्य गरेपनि निर्वाचनमा गठबन्धन नगरी एक्लै भिड्ने भन्दै सार्वजनिक स्थलमै ढोल पिटिरहेका माओवादी अध्यक्ष दाहाल अन्ततः नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समिकरणले त्रसित बनेका छन् । उता, २०७९ सालको निर्वाचनमा राष्ट्रिय पार्टीको मान्यता नपाएको एकीकृत समाजवादी कोहि आउला र खाउँला भनेर बसिरहेका बेला माओवादीले गठबन्धन गर्ने निर्णय गरेपछि अध्यक्ष माधव नेपाल हर्षीत देखिएका छन् ।

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न थालेपछि, मानव तस्करीको आरोपमा कोशी प्रदेश सरकारका कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेपछि र गण्डकी प्रदेशका पूर्व वनमन्त्री अर्थात् गुण्डाहरुको नाइके भनेर चिनिने राजिब गुरुङ उर्फ दिपक मनाङेलाई कारागार चलान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासनको प्रत्याभूति दिएको चर्चा चलिरहेको समयमा एक्ला-एक्लै चुनावमा गएपछि पराजयको स्वाद चाख्नुपर्ने अवस्था आउन सक्ने भएकाले माओवादी अध्यक्ष दाहाल आफ्नो स्वार्थपूर्तिका लागि चुनावी गठबन्धन गर्न तयार भएका हुन् ।

एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र नेकपा एस मिलेर जान तयार भएका छन् । आवश्यकता अनुसार मिलेर जाने भएकाले अहिलेसम्म पार्टीले सबै ठाउँमा उम्मेदवार नटुंग्याएको एकीकृत समाजवादीले जनाएको छ ।

‘अहिले केही ठाउँमा मात्रै उम्मेदवार टुंग्याएका छौं । समाजवादी मोर्चामा आबद्ध दलहरुबीच मिलेर जानुपर्छ भनेर प्राथमिकता राखेका छौं,’ एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराई भन्छन्, ‘कुनै ठाउँमा सरकार विपक्षी दलहरुसँग तालमेल हुनसक्छ ।’

समाजवादीले हालसम्म कीर्तिपूर ४ को वडाध्यक्षको उम्मेदवार मात्रै टुंगाएको छ । मेयरमा भने माओवादीलाई सघाएर जाने छलफल चलिरहेको माधव निकट नेताहरुको भनाइ छ ।

दुई ठूला दल कांग्रेस एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीको बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो । तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपछि माओवादीले पनि एकीकृत समाजवादी सहित विपक्षी दलहरुसँग सहकार्य गर्न लागेको हो । 

माओवादी अध्यक्ष दाहालसँग असन्तुष्ट भएर मोर्चामा निष्क्रिय भएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई पनि चुनावी मोर्चामा जोड्ने गरी छलफल चलिरहेको छ । समाजवादी मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।

प्रतिक्रिया