खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण छ : सभामुख घिमिरे

ललितपुर  ।  सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण भएको बताएका छन् । 

झापा क्षेत्र नं १ सांसद सचिवालय काठमाडौं तथा नेपाली कांग्रेस क्षेत्र नं १ काठमाडौं सम्पर्क समितिको आयोजनामा भएको प्रथम ‘झापा–१ काठमाडौं कप’ फुटसल प्रतियोगिताको आज उद्घाटन समारोहमा उनले सांसद विश्वप्रकाश शर्माले गरेको यो कार्य अत्यन्तै महत्वपूर्ण र रचनात्मक काम भएको बताउँदै खेलकुद क्षेत्रलाई राज्यले अझै पनि उचित स्थान दिन नसकेको बताए । 

“पछिल्लो समय खेलको क्षेत्रमा नेपाल क्रमशः अगाडि बढ्दै आएको छ, केही समय देखि क्रिकेट लगायत खेलमा नेपालले उल्लेख्य प्रगति गरेको छ, हरेक ठाउँ बाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्न सकिन्छ, खेलकुदमा हाम्रो भविष्य राम्रो छ”, सभामुख घिमिरेले भने। उनले विगतको तुलनामा खेलकुद क्षेत्र थप वर्तमान समयमा केही राम्रो काम भएको भन्दै यसलाई अझै प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले रचनात्मक कार्यक्रम मार्फत झापाका सबैलाई जोड्ने प्रयास र कौशलाको प्रशंसा गरे । उनले सांसद शर्माले देशभर नै रचनात्मक काम गरेर जनताको मन जित्न गरेको प्रयास महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । 

प्रतियोगिताको उद्घाटन समारोहमा सभामुख घिमिरेले विभिन्न पेसा व्यवसायी र राजनीतिक दलका प्रतिनिधिको समूहलाई खेल मैदानमा पुगेर फुटबल हस्तान्तरण गरी खेलको शुभारम्भ गरे । 

प्रतियोगितामा झापाका राजनीतिक दल, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति, कलाकार, महिला, कर्मचारीसहितका समूहगत खेलाडी सहभागी भएको नेपाली कांग्रेस क्षेत्र नं १ काठमाडौं सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले जानकारी दिए । मैत्रीपूर्ण खेलका लागि वटा समूह र प्रतियोगितात्मक खेलका लागि सात समूह सहभागी रहेको उनले जानकारी गराए । 

प्रतियोगितात्मक खेलका लागि चन्द्रगढी, दुवागढी, ज्यामिरगढी, साविक मेचीनगर, धाइजन, बाहुनडाँगी र शान्तिनगर समूह बीच प्रतिस्पर्धा हुनेछ भने मैत्रीपूर्ण खेलका लागि राजनीतिक दल र कलाकार, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा कर्मचारी र महिला टोली बीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगितामा विजेताले प्रथम पुरस्कार २१ हजार सहित ट्रफी र मेडल तथा दोस्रो पुरस्कार ११ हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
रासस 

प्रतिक्रिया