कांग्रेसको १०० दिने अभियान पुनः शुरु
चितवन । नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनःशुरु गरेको छ । कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गते देखि फागुन ७ गते सम्म सञ्चालन गरिने जानकारी दिइएको छ ।
असोज ६ गते शुरु गरेको अभियान वर्षातका कारण स्थगन गरिएको थियो । अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य आएका छन् ।
केन्द्रीय प्रतिनिधिका रुपमा आएका आचार्यको उपस्थितिमा यहाँका सात पालिका र ९८ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए । जिल्लाले सातै पालिका र ९८ वटै वडामा महाधिवेशन, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका सदस्यलाई प्रतिनिधिका रुपमा खटाइएको उनले बताए ।
खटाइएका प्रतिनिधिले मङ्सिर १० गते एकै पटक सबै वडा तहमा बैठक राखेर अभियानको शुरुवात गर्ने छन् । यस्तै वडा, क्षेत्रीय समिति, प्रदेश समिति लगायतका संरचनाको बैठक भेला लगायत काम सञ्चालन गरिनेछ । यस सँगै अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस गरिने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए
जनताका गुनासो सँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने उनको भनाइ छ । कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास उनले व्यक्त गरे । आन्तरिक समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सहज हुने केन्द्रीय सदस्य आचार्यले बताए । जनताका जायज गुनासो भए सम्बोधन गर्दै समाधानको पाटोमा पार्टीलाई लैजान अभियान फलदायी हुने उनले बताए ।
रासस
प्रतिक्रिया