उत्कृष्ट करदाता नबिल बैंक देखि भाटभटेनी सुपरमार्केट सम्मानित
काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९र८० मा सबै भन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिबार सम्मान गरिएको हो ।
अघिल्लो आर्थिक वर्षमा सबै भन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्म मध्ये सबै भन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ ।
वस्तु निर्यात कारोबार गर्ने कम्पनी तर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्यात तर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्र तर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनी तर्फ नविल बैंक लिमिटेडलाई सबै भन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मान गरिएको छ ।
स्वास्थ्य तथा शैक्षिक संस्था तर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसाय तर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको छ ।
गत आर्थिक वर्षमा ५० करोड देखि एक अर्ब सम्मको कारोबार गर्ने कम्पनी तर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ ।
ऊर्जामुलक उद्योग तर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । व्यक्तिगत आयकर तर्फ सबै भन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित भएका छन् ।
विसं २०७५ साउन देखि २०८१ असार मसान्त सम्म तोकिएको समयमा नियमित र सबै भन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरेको छ ।
वार्षिक ५० करोड सम्म कारोबार गर्ने करदाता मध्ये सोल्टी इन्टरप्राईजेज र विशेष उद्योग तर्फ सबै भन्दा बढी आयकर दाखिला गरेवापत वरुण बेभरेजलाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरु पनि सम्मानित भएका छन् ।
प्रतिक्रिया