एमाले इलाम अध्यक्षमा बराल निर्वाचित

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् । 

शनिबार बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशन बाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत मात्र प्राप्त गरेका छन् । 

उपाध्यक्षमा २५० मतका साथ उदयबहादुर राई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उमेश गुरुङले १८४ र बुद्धिप्रसाद खनालले १३७ मत मात्र प्राप्त गरेका छन् ।  

सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरेका हुन् । सुवेदीले २९२ मत पाउँदा अधिकारीले २६८ मत प्राप्त गरे । उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित भए । राईले  १७० मत प्राप्त गर्दा श्रेष्ठले १५३ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धी यामबहादुर राईले १३४ र मानविर लुहागुनले ५६ मत मात्र प्राप्त गरे ।  

त्यस्तै, उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै   दिलकुमारी लिम्बू निर्वाचित भएकी छन् । लिम्बूले ३०९ मत पाउँदा रिमालले २१७ मत मात्र प्राप्त गरिन् । 

बिहीबार देखि शुरु भएको अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका ५८७ प्रतिनिधि सहभागी थिए । मत भने ५८१ मात्र खसेको थियो । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन बाट नेतृत्व चयन भएको हो । 
रासस 

प्रतिक्रिया