आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदै

काठमाडौं । शनिबार २० औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । ‘नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । 

नेपालमा १९९५ सालमा हिरा गिरीले बर्मा बाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि कफी खेतीको शुुरूआत भएको मानिन्छ । नेपालमा शुरू देखि नै रोपण गरेको कफी अराविका जातको हो । अराविका कफी पारखीको पहिलो रोजाईमा पर्ने र विश्वमा कुल उत्पादनको झन्डै ७५ प्रतिशत यही जातको उत्पादन हुने गरेको छ । 

विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा बढ्दै गएको छ । नेपालमा उत्पादन भएको कफीले आन्तरिक माग एक महिना पनि नधान्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । साथै नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । तर, मागअनुसार आपूर्ति नहुँदा विगत केही वर्ष कफीको आयात बढेकोमा पछिल्ला दुई÷तीन वर्षमा न्यून मात्रामै भए पनि निर्यात गर्न थालिएको छ । 

देशभर चार हजार तीन सय हेक्टरमा कफी खेती विस्तार भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । शनिबार देखि लागू हुनेगरी बोर्डले विभिन्न जातका कफीको नयाँ मूल्य निर्धारण गरेको हो । 
 
हरेक वर्ष बोर्डले कफीको नयाँ मूल्य निर्धारण गर्ने गरेको छ । नयाँ मूल्य अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकिलो १०५ रुपैयाँ र ग्रेड ‘बी’ को ९५ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
 

प्रतिक्रिया