उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनको कार्य तालिका अन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताए । 

निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजे सम्म हुनाका साथै सोही दिन नै उम्मेदवारको सूची सार्वजनिक हुने भएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरी माथि छानबिन मङ्सिर ४ गते गरिने भएको बतइएको छ । उजुरी माथिको छानबिन पछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने भएको छ । 

त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताए । 

उपाध्यक्ष पदको उम्मेदवार नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सविता बुढालाई सर्वसहमत टुङ्ग्याएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रले अहिले सम्म उम्मेदवार टुङ्ग्याएका छैनन् । 
रासस 

प्रतिक्रिया