खुला सीमाले पर्साका युवा लागूऔषधको कुलतमा
वीरगञ्ज । खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागूऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् । खुला सीमानाकाको कारणले भारत बाट सहजै ढङ्गले लागूऔषध भित्रिँदा पनि यसको मारका यहाँका युवा परेका हुन् ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले खुला सीमानाका बाट अवैध रूपमा लागूऔषध भित्रिँदा युवाहरू कुलतमा फसेको बताए । “खुला सीमानाकाको कारणले स्कुले उमेर देखि नै यहाँका युवा कुलतमा फस्ने गरेका छन्,” उनले भने, “अहिले युवाहरूलाई लागूऔषधको कुलत बाट जोगाउनुपर्ने बेला भइसकेको छ ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले पनि युवाहरू लागूऔषधको कुलतमा फस्ने गरेको बताए । “खुला सीमानाकाको कारणले पनि यहाँका युवापुस्ता लागूऔषधको कुलतमा फस्ने गरेका छन्,” उनले भने, “पर्सा प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विद्यार्थी तथा युवामा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।”
प्रहरी नायब उपरीक्षक भट्टले पर्साका परेका मुद्दा मध्ये अधिकांश लागूऔषध सँग सम्बन्धित रहेको जानकारी दिए । “१५ देखि ४५ वर्ष उमेर समूहका युवाहरू लागूऔषधको कुलतमा पर्ने गरेको देखिएको छ,” उनले भने, “मुलुकका लागि आवश्यक पर्ने युवाशक्ति नै कुलतमा पर्दा मुलुकलाई र परिवारलाई पनि ठूलो क्षति भइरहेको छ ।”
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आर्थिक वर्ष २०७८र७९ मा लागूऔषध सम्बन्धी दुई सय २७ मुद्दा परेको थियो । जसमा दुई सय ८२ पुरुष र नौ महिला पक्राउ गरेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७९र८० मा लागूऔषध सम्बन्धित तीन सय दुईवटा मुद्दा परेको थियो । जसमा तीन सय ८९ पुरुष र १३ महिला पक्राउ परेका थिए । त्यस्तै, आर्थिक वर्ष २०८०र८१ मा दुई सय चारवटा मुद्दा परेको थियो । जसमा पुरुष दुई सय ४२ र महिला १० जना पक्राउ परेका थिए ।
पर्सामा विशेषगरी गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाईजिल्याब, नुर्फिन, नाट्राभेट ट्याब्लेट, कोरेक्स लगायत प्रयोग गर्ने गर्छन् । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले पर्सा प्रहरीले लागूऔषधको दुव्र्यसनीको विरुद्धमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए ।
“पर्सा प्रहरीले नागरिक समाज सँग हातेमालो गरेर लागूऔषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ,” उनले भने, “खुला सीमानाकाको कारणले पनि लागूऔषधको दुव्र्यसनीलाई नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।”
रासस
प्रतिक्रिया