खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान
खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि अनुमति दिइएको हो । गत वर्षसम्म तीन सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो । विभागले आर्थिक वर्ष २०७९÷८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको हो । यस्तै, विभागले हालसम्म एक सय ५८ कम्पनीलाई खानी उत्खनन्का लागि अनुमतिपत्र प्रदान गरेको छ । गत वर्षसम्म एक सय ४७ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको विभागले आव २०७९÷८० मा थप ११ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको हो । खानी खोजतलास तथा उत्खननका लागि आउनेमध्ये सबैभन्दा धेरै कम्पनी चिनियाँ रहेका छन । अनुमतिपत्र प्राप्त गरेका कम्पनीमध्ये ५० प्रतिशतले मात्र उत्खननको काम सुरु गरेको र बाँकी कम्पनी उत्खननका लागि आवश्यक प्रक्रियामै रहेका छन् । विभागले आव २०७९÷८० मा समयमा खानी खोजतलास तथा उत्खननको क्षेत्रमा काम नगर्ने एक सय २१ कम्पनीको अनुमतिपत्र रद्द गरेको छ ।
प्रतिक्रिया