गाजा युद्धविरामका लागि हमास तयार, इजरायललाई दबाब दिन ट्रम्पलाई आग्रह

एजेन्सी । हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । 

“यदि युद्धविराम प्रस्ताव प्रस्तुत गरिन्छ र त्यो इजरायलाई मान्य हुन्छ भने हमास गाजा पट्टीमा युद्धविराममा पुग्न तयार छ, हामी अमेरिकी प्रशासन र ट्रम्पसमक्ष इजरायली सरकारलाई आक्रमण अन्त्य गर्न दबाब दिन आह्वान गर्दछौँ”, हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमले भने, “विस्थापित मानिसहरूको फिर्ती, कैदीहरूको आदानप्रदानका लागि गम्भीर सम्झौता, मानवीय सहायता र पुनर्निर्माणको पहुँच दिने गरी गाजा पट्टीबाट प्रस्तुत गरिएको कुनै पनि प्रस्तावले स्थायी युद्धविराम र सैन्य फिर्ताको समझदारीमा पुग्न सहयोग गर्नेछ भनेर हमासले मध्यस्थकर्ताहरूलाई जानकारी दिएको छ ।” 

उक्त माग गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणपछि सुरु भएको युद्धविराम वार्ताहरूमा तोकिएका बुँदाहरू हुन् । चुनावी प्रचार अभियानमा ट्रम्पले मध्यपूर्वमा शान्तिको वाचा गर्नुभएको थियो र इजरायललाई अझ स्वतन्त्रता दिने प्रतिबद्धता जनाएका थिए ।

हमास र इजरायलले वार्तामा ‘गम्भीरता’ नदेखाएसम्म गाजाको युद्धविराम र बन्धक मुक्तिका लागि प्रमुख मध्यस्थकर्ताका रूपमा आफ्नो भूमिका निलम्बन गरेको कतारले शनिबार बताएपछि नइमको टिप्पणी आएको हो ।

सन् २०१२ देखि अमेरिकी आशीर्वादमा हमासको राजनीतिक नेतृत्वलाई आफ्नो भूमिमा आश्रय दिएको कतारले गत अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणले सुरु गरेको युद्ध अन्त्य गर्ने लक्ष्यका लागि महिनौँदेखि लम्बिएको कूटनीतिक प्रयासबाटा पछि हट्ने घोषणा गरेको थियो । 

इजरायली आधिकारिक तथ्याङ्कको एएफपीले गरेको गणनाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित १ हजार २ सय ६ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार गाजामा भएको इजरायलको प्रतिक्रियात्मक अभियानमा हमास प्रशासित क्षेत्रमा ४३ हजार सात सय ६४ मानिसको मृत्यु भएको छ । तीमध्ये धेरै सर्वसाधारण थिए ।

प्रतिक्रिया