एट्लान्टिक महासागरमा डुंगा दुर्घटना, साठी जनाभन्दा बढीको मृत्यु

पश्चिमी अफ्रिकाको केप भर्डेमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन आईओएमले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ । सेनेगल र सियरा लियोनका अनुमानित १ सय जना व्यक्तिहरू डुङ्गामा सवार थिए । उनीहरु एक महिनादेखि समुद्रमा रहेको बताइएको छ । घटना कहिले भएको हो भन्ने तत्काल खुल्न सकेको छैन ।सेनेगलको विदेश मन्त्रालयले विज्ञप्तिमा उक्त डुङ्गा १  सय १ जना यात्रुहरू लिएर १० जुलाईमा सेनेगल छोडेको बताएको छ । मन्त्रालयले केप भर्डेका अधिकारीहरूसँग बाँचेकाहरूको स्वदेश फिर्ताका लागि सम्पर्क गरिरहेको बताएको छ । केप भर्डे पश्चिमी अफ्रिकाको तटबाट लगभग सय किलोमिटर टाढा स्पेनिस क्यानरी टापुहरूमा समुद्री माइग्रेसन मार्गमा पर्दछ । यसलाई प्रायः युरोपियन युनियनको प्रवेशद्वारको रूपमा प्रयोग गरिन्छ । आईओएमको तथ्याङ्क अनुसार २०२२ मा क्यानरी टापु पुग्ने प्रयासमा कम्तीमा ५ सय ५९ जनाको ज्यान गएको थियो भने यस वर्षको पहिलो ६ महिनामा सोही मार्गमा १५ वटा जहाज र डुंगा डुब्दा र भत्किँदा १ सय २६ जनाको मृत्यु भएको वा बेपत्ता भएका छन् । 

प्रतिक्रिया