स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

एजेन्सी । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५:०० बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए । आगलागीको कारण समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।

वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन ।

शहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो ।

“भाग्यवश, त्यो कोठामा सुरक्षा ढोका रहेछ र यसका कारण आगो अन्यत्र फैलिनबाट रोकियो, रामिरेज गामिजले भने ।

अरागोन क्षेत्रका लागि केन्द्रीय सरकारका प्रतिनिधि फर्नान्डो बेल्ट्रानले मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए । धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुन सक्ने उनी बताउँछन् ।

अरागोन सरकारका प्रमुख जर्ज एज्कोनले आगलागी र यसबाट भएको क्षतिबाट आफू स्तब्ध भएको र शोकको सङ्केतका रूपमा सार्वजनिक कार्यक्रम स्थगित गरेको बताए । 

जार्डिनेस डे भिल्लाफ्रान्का निवास सन् २००८ मा वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्धव्यक्तिहरूलाई राख्नेगरी सुविधाहरू थपिएको थियो ।

प्रतिक्रिया