दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुनेछ : मन्त्री सिंह

विराटनगर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरुबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने बताएका हुन् । 

उनले सातबुँदे सहमतिबाट बनेको वर्तमान सरकारले थोरै समयमा धेरै उल्लेखनीय काम गरेको चर्चा गर्दै सरकारले जनताको चाहनाअनुसार काम गरिरहेको बताए ।

बजेट पारित भइसकेपछि बनेको वर्तमान सरकार एउटा परिधिभित्र बसेर काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री सिंहले दोस्रो संविधानसभा पछि जारी भएको वर्तमान संविधानको संशोधन संसद्ले गर्ने र कुनकुन विषयमा संशोधन हुने छलफल भइरहेको बताए ।

अपचलन र ठगी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सरकार विधिको शासनको पक्षधर भएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया