गण्डकीमा डेङ्गु सङ्क्रमण बाट ८ जनाको मृत्यु
गण्डकी । गत पुस र माघ देखि गण्डकी प्रदेशमा १८ हजार ३ सय ३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण ८ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलो पटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गु सङ्क्रमण बाट मृत्यु भएको थियो ।
त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यस अवधिमा कास्कीमा सबै भन्दा बढी ८ हजार ९ सय ७९ जना र सबै भन्दा कम मनाङमा मात्र ६ जनामा डेङ्गु सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।
प्रदेश राजधानी समेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै ८ हजार ८ सय ५८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिले सम्म डेङ्गुको सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा गत सेप्टेम्बरमा ६ हजार २ सय ६७ जना डेङ्गु बाट सङ्क्रमित भएका थिए ।
अक्टुबरमा ६ हजार ४४ र नोभेम्बर शुरु भएयता हाल सम्म जम्मा ९ सय ४७ जनामा डेङ्गु देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कास्की पछि सबै भन्दा बढी तनहुँमा ३ हजार ८ सय १७, पर्वतमा १ हजार ४ सय ३१, बागलुङमा १ हजार ३ सय ८४, गोरखामा १ हजार १ सय २, स्याङ्जामा ७ सय २६, म्याग्दीमा ४ सय ५६, नवलपुरमा २ सय ९७, लमजुङमा १ सय २५, मुस्ताङमा १६ र मनाङमा ६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
असार देखि कात्तिक सम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरस बाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम शुरु भए सँगै लामखुट्टेको टोकाइ बाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए ।
“चिसो याम शुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनु देखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, उनले भने । डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ ।
डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइ बाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गुको सङ्क्रमण पछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्ने जस्ता लक्षण देखा पर्ने गरेको छ ।
रासस
प्रतिक्रिया