टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि
काठमाडौं । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ ।
थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षण बाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन् ।
“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँ बाट नमूना सङ्कलन गरेर पटक पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ”, उनले भनिन्, “यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिए पछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गर्यौँ ।”
गत असारमा काठमाडौं महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गम बाट नमूना सङ्कलन पछि परीक्षण गर्दा पोलयो फेला परेको थियो ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिए पछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए ।
सन् २०१७ देखि खोप शाखाले ढल बाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौंका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमती बाट नमूना सङ्कलन गरेर महिनाको दुई पटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा. गौतमले बताए । काठमाडौं उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ ।
सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणु बाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने लगायत लक्षण देखिन्छन् ।
रासस
प्रतिक्रिया