दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण

दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रर्वद्धनमा कार्यक्रम कार्यान्वयन गरे सँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । 

नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेत मध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि नौ रोपनीमा गुणे धान फलाएका छन् । केही दिन पछि यो धान भित्र्याउने तयारीमा खत्री र विक छन् । 

अन्य धानको तुलनामा गुणेको मूल्य बढी पाइने भएकाले आफूहरूले यो जातको धान लगाएको भैरवी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले बताए ।  दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुका लगायत स्थानका खेतमा हाल गुणे र कालोगुणे झुलिरहेका छन् । जिल्लाको कुल खेतीयोग्य ४१ हजार १३१ हेक्टर मध्ये झण्डै आठ हजार हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख राजु भूजले बताए । एक हजार हेक्टरमा भने हुने गुणेखेती भएको छ । 

हरेक वर्ष दैलेखमा ३० हजार क्विण्टल टन गुणे धान उत्पादन हुने गरेको भएपनि बजारको माग पूरा हुन नसकेको दैलेखका व्यापारीहरुले बताएका छन् ।
रासस  

प्रतिक्रिया