रवि लामिछानेलाई आज रुपन्देही बाट कास्की लगिँदै

काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही बाट कास्की फर्काइँदै छ । 

उनलाई हवाई उडान मार्फत् नै आज पोखरा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीले बुद्ध एयर मार्फत बिहीबार साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि आजलाई सारिएको हो । 

मंगलबार देखि बिहीबार सम्म बयानका क्रममा लामिछाने सँग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र उनले इन्कारी बयान दिएको बताइएको छ । सहकारी ठगीको आरोपमा लामिछानेलाई  कात्तिक २ गते काठमाडौं स्थित राष्ट्रिय स्वतन्त्र पार्र्टी कार्यालय बाट पक्राउ गरिएको थियो । त्यसपछि पोखरा लगिएका उनलाई प्रहरीले उनी माथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ । 

यसैबीच कास्की जिल्ला प्रहरी कार्यालयले पोखरा स्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने लगायतको सम्पत्ति बेचबिखन र स्वामित्व हस्तान्तरणमा रोक लगाउन सरोकारवाला सबै निकायलाई पत्राचार गरेको छ । 
 

प्रतिक्रिया