पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजार सङ्क्रमित
एजेन्सी । पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।
लाहोर लगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजार भन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको जनाइएको छ । लाहोरका अस्पतालहरु सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीले उपचार गराइरहेका छन् ।
प्रदुषणका कारण दम र मुटुको रोग जस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । प्रदुषण र धुवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगहरू सहित विभिन्न भाइरल रोगहरूमा वृद्धि गरेको पाकिस्तानका चिकित्सा विज्ञहरूले बताएका छन् ।
प्रतिक्रिया