नेपालले आज बङ्गलादेशमा विद्युत् निर्यात गर्दै
काठमाडौं । नेपाल बाट पहिलो पटक आज ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुने भएको छ । गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेश बीच विद्युत् निर्यातका लागि सम्झौता भएकोमा यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आज नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरूले संयुक्त रूपमा विद्युत् निर्यात शुभारम्भ गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमा दिउँसो १२ बजेर ५५ मिनेटमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, बङ्गलादेशका ऊर्जा सल्लाहकार र भारतका पावर मिनिस्टरले संयुक्त शुभारम्भ गर्ने कार्यक्रम छ ।
आज प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पर्याउने भएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६ दशमलब ४० अमेरिकी सेन्ट पाउने छ ।
बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको भनाइ छ । नेपाल र भारत बीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात् बङ्गलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइन मार्फत बहरामपुर प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्ने छ ।
भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले सुरुवातका रूपमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको हो । गत असोजमा सम्पन्न सम्झौता अनुसार नेपालले पाँच वर्षका लागि हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने तालिका छ ।
प्रतिक्रिया