हिमाल हेर्न कोखेडाँडा

पर्वत । मोदी गाउँपालिका-१ झिलिबराङ्ग स्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतह बाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् । 

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल मोहोरेडाँडा बाट करिब आधा घण्टाको पैदलयात्रा बाट पुग्न सकिने कोखेडाँडा बाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छे, धवलागिरि, निलगिरि लगायत हिमाल हेर्न सकिन्छ । 

म्याग्दीको पुनहिल भन्दा पनि उचाइमा रहेको यो स्थान बाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँ लगायतका जिल्ला अवलोकन गर्न सकिन्छ । 

लामो समय देखि पर्यटन क्षेत्रमा सक्रिय लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेका छन् । उनले यहाँ आउने पर्यटकको सुविधाका लागि नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरूको अभाव रहेको बताए । उनले कटेजमा नेपालीहरूलाई एक रात बास बसेको एक हजार पाँच सय निर्धारण गरेका छन् । 

कोखेडाँडामा विभिन्न ३० देशका झण्डा राखिएको छ । कोखेडाँडा पुग्नका लागि तीन वटा मार्ग छन् । कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ ।

यो मार्ग बाट चार देखि पाँच घण्टा पैदलयात्रा गर्नुपर्दछ । त्यसैगरी पातीचौर–बाजुङ–क्याङ–लेसपार सम्म गाडीमा यात्रा गरी त्यहाँ वाट झण्डै छ–सात घण्टाको पैदलयात्रा मार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ भने पर्वतको जलजला गाउँपालिका अन्तर्गत मिलनचोक–शालिजा–तारे–हम्पालसम्म गाडीमा र करिब तीन घण्टाको पैदलयात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ । 

कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत १० लाख विनियोजन भएको छ । यस वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए । 

कोखेडाँडा जाने पर्यटक मोदी गाउँपालिका वडा नं १ लप्सीबोट र भुकदेउराली र ताङ्लेमा रहेको घरबास (होमस्टे)मा पनि बास बस्न सक्नछन् । त्यस्तै, मोदी गाउँपालिका वडा नं ४ लेसपारमा पनि होमस्टे सुविधा विस्तार गरिएको छ ।  
रासस 

प्रतिक्रिया