‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की ।  नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणका लागि सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका क्षेत्रमा रहेका सात वटा तालहरूलाई जोड्ने उक्त परियोजना निर्माण गर्न महानगरले गत वर्षदेखि योजना अघि बढाएको हो । ‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका बारेमा छलफल सुरु भएको छ ।

पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको महानगरप्रमुख धनराज आचार्यले बताए । उनका अनुसार एडिबीको रु एक अर्ब आर्थिक सहयोगमा निर्माण हुने परियोजनाले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । उनले ८५ किमी लम्बाइको ‘लेक टु लेक जोड्ने साइकल ट्र्याक’ पोखराका लागि महत्पूर्ण पर्यटकीय पूर्वाधार बन्ने बताए ।

नगरप्रमुख आचार्यले भने, “यसले संसारभरिका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्ने छ भने पोखराको पर्यटन प्रवर्द्धनमा यो महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौँ ।”पोखरा महानगर वातावरणीय हिसाबले स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने आचार्यले उल्लेख गरे ।

पोखरामा रहेका तालहरूलाई एकआपसमा (भित्र पर्नेगरी र तालहरू बाहिर पर्नेगरी) जोड्ने गरी ‘इनर’ र ‘आउटर’ दुई वटा रुटसहित विभिन्न स्थानमा कनेक्ट रुटहरू निर्माण गर्दा करिब ८५ किमी लम्बाइको साइकल ट्र्याक बन्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया