नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगरप्रमुखबीच भेटवार्ता

पोखरा । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच आज भेटवार्ता भएको छ । पहिलो पटक पोखरा आउनुभएकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो ।

अन्नपूर्र्ण हिमाल आरोहणको ७५औँ वर्षका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए । उनका अनुसार भेटमा राजदूत कोर्टेभालले सन् २०२५ मा हिमाल आरोहणको ७५औँ वर्षगाँठमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको बताए ।फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी विश्वमा पर्वतारोहणको इतिहासको थालनी गरेको बताए । हर्जोगले आफ्ना सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्र्ण प्रथमको पहिलो पटक सफल आरोहण गरेका थिए ।

अन्नपूर्र्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको भौगर्भिक परीक्षण (जियोलोजिकल सर्भे)का लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुईपक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो । भेटमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको समेत सहभागिता थियो ।

महानगर फ्रान्स सरकारसँग अन्नपूर्र्ण सफाइ अभियानदेखि समग्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको नगरप्रमुख आचार्यले बताए । आजै जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीसँग महानगरप्रमुख आचार्यको भेटवार्ता भएको महानगरपालिका कार्यालयले जनाएको छ । भेटमा पोखरा र जापानका बीचमा लामो समयदेखि श्रम तथा प्रविधिको आदानप्रदान, पोखरामा जापान सरकारको तर्फबाट सञ्चालित परियोजना र उपलब्धिलगायत विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया