कोशी प्रदेशमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बुधबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका नियुक्त गरेका हुन् । मण्डलले आज नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन । प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले मण्डललाई सपथ गराएका हुन् । सर्वोच्च अदालतको आदेशपछि साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएपछि थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेर साउन १७ गते शपथग्रहण गरेका थिए । मुख्यमन्त्री थापाले त्यसपछि साउन २६ गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री थापाले अझै आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन् । उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।
प्रतिक्रिया