नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोलीलाई भव्य स्वागत गरिएको छ ।
बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का पदाधिकारी लगायतले यू१९ महिला क्रिकेट टोलीलाई स्वागत गरेको हो ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो ।
त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ । जहाँ नेपालले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ ।
यसअघि युएई र थाइल्याण्ड भन्दा पछि रहेपछि छनोट हुन असफल रहेको युवा महिला टोलीले यस पटक भने विश्वकप पुगेर नेपाली क्रिकेटमा इतिहास रचेको हो । महिला क्रिकेटमा नेपालको कुनै पनि टोली विश्वकपमा छनोट भएको यो पहिलो पटक हो ।
प्रतिक्रिया