रुपन्देहीमा सकियो रविको बयान, पोखरा फिर्ता पठाउने तयारी
काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रुपेन्देही पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । लामिछानेसँग तेस्रो दिनको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरेले बयान सकिएपछि जतिसक्दो चाँडो लामिछानेलाई पोखरा फिर्ताको तयारी रहेको बताएका छन् ।
बुटवलको सुप्रिम सहकारीबाट उनको नाममा एक करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति सुद्धिकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया