उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक प्योङ्गयाङ्गद्वारा सार्वजनिक

एक महिनाअघि दक्षिण कोरियाली सीमा नाघ्दै उत्तर कोरिया प्रवेश गरेका एक अमेरिकी सैनिकबारे प्योङ्गयाङ्गले पहिलो पल्ट आफ्नो धारणा सार्वजनिक गरेको छ । अमेरिकी सेनाको अमानवीय दुव्र्यवहार र त्यहाँ व्याप्त जातीय विभेदका कारण शरण खोज्दै उनी उत्तर कोरिया आइपुगेको सरकारी समाचार माध्यम ‘केसीएनए’ले जनाएको छ । किंगले अमेरिकी सेनामा व्याप्त विभेद र दुव्र्यवहारका कारण आफू त्यहाँ आएको र उत्तर कोरिया वा अन्य कुनै तेस्रो मुलुकमा शरण चाहेको बताएको पनि केसीएनएले उल्लेख गरेको छ । यता अमेरिकी रक्षा मन्त्रालयले भने किंगको भनाइको औपचारिक पुष्टि हुन नसकेको बताउँदै उनको सुरक्षित फिर्तीमा आफ्नो ध्यान केन्द्रित रहेको जनाएको छ । किंगलाई भगौडा वा कुन श्रेणीमा राख्ने भन्नेबारे अमेरिकी सेना अझै अनिर्णीत छ । अमेरिकी सेनाका तल्लो श्रेणीका जवान ट्राभिस किंग गत जुलाई १८ मा कोरियाली संयुक्त सुरक्षा क्षेत्रको सीमा नाघ्दै उत्तर कोरिया प्रवेश गरेका थिए । २३ वर्षीय किंग अश्वेत जातिका हुन् । संयुक्त सुरक्षा क्षेत्रको गैरसैनिक भ्रमणमा रहेका बेला उनी उत्तर कोरियातर्फ प्रवेश गरेका हुन् । अमेरिकाले किंगले जानाजान सीमा पार गरेको भन्दै उनलाई युद्धबन्दीका रुपमा वर्गीकरण गर्न अस्वीकार गर्दै आएको छ । 

प्रतिक्रिया