हामीले राजनीतिमा भोगेको दुःख नयाँ पुस्ताले बुझ्दैन् : मन्त्री सिंह

ललितपुर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान कार्यक्रमलाई सम्बाधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसकोे योगदान अग्रस्थानमा रहेको बताएका हुन् ।

“लामो समयदेखि हामी राजनीतिमा छौँ, हामीले ६९ वर्ष राजनीतिमा भोगेको दुःख अहिलेको पुस्ताले बुझ्दैन, हामीले अतुलनीय कष्टकर दुःख भोग्नुपर्याे, २०२९ सालदेखि ललितपुरमा मैले सङ्गठन बनाउन लागेको हुँ,” उनको भनाइ थियो ।

‘आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै कठिन परिस्थितिको सामना गर्नुपर्ने रहेछ, राजनीतिक आस्थाले चाक्सीबरी छोडेर डेरामा बसेर गुजारा टार्नु पर्याे, गणेशमान र मङ्गलादेवीले त धेरै दुःख भोग्नु पर्याे भने दूरदराजका जनताले कति दुःख भोग्नु परेको थियो होला’, मन्त्री सिंह भन्छन्, ‘यो हामीले बुझ्नुपर्छ, राजनीति सेवा गर्ने प्रभावकारी माध्यम हो, तर अहिले फाइदा लिने प्रबृत्ति बढेको छ, राजनीति भनेको त सिद्धान्त, आदर्श हो नि !’

प्रतिक्रिया