मृत भेटिएको ह्वेल रुसी सैनिक प्रशिक्षणबाट भागेको निष्कर्ष

      
काठमाडौं । पाँच वर्षअघि नर्वेको तटनजिकै पहिलो पटक शरीरमा एउटा पट्टीसहित देखा परेको बलुगा ह्वेल रुसी  ‘जासुस’ भएको बताइएको छ । 

स्थानीय बासिन्दाले “ह्वाल्दिमिर“ नाम दिएको उक्त सेतो ह्वेल “रुसी जासुस“ हुन सक्ने व्यापक अड्कलबाजी भएको थियो। सो ह्वेलको गत सेप्टेम्बरमा मृत्यु भएको थियो । ह्वेल मृत भेटिएपछि त्यसबारे खोज तथा अनुसन्धान भएको हो । 

एक जीववैज्ञानिक डा. ओल्गा श्पाकले वास्तवमा त्यो ह्वेल’आर्क्टिटक सर्कल’स्थित रुसी जलसेनाको एउटा अखडाबाट भागेको हुन सक्ने निष्कर्ष निकालेकी छन्। उनका अनुसार जलसेनाको शिविरको पहरेदारीका लागि त्यसलाई प्रशिक्षित गरिँदै थियो तर “उच्छृङ्खल“ भएकाले त्यो त्यहाँबाट भागेको हुनुपर्छ।रुसले उक्त ह्वेललाई आफ्नो सेनाले प्रशिक्षण गर्न खोजेको हो कि हैन भन्ने विषयमा टिप्पणी गर्न अस्वीकार गर्दै आएको छ।तर सन् १९९० को दशकदेखि सन् २०२२ मा आफ्नो देश युक्रेन फर्किनु अघिसम्म समुद्री स्तनपायी जीवबारे रुसमा अनुसन्धान गरेकी डा. श्पाकले  शतप्रतिशत रुसी ह्वेल भएको बताएकी छिन् । 

उनका साथी तथा रुसमा रहेका पूर्व सहकर्मीहरूसँगको कुराकानीमा आधारित डा. श्पाकका विवरण बीबीसीको ‘सीक्रेट्स अफ दि स्पाई ह्वेल’ नामक वृत्तचित्रमा समेटेको छ । 

सन् २०१९ मा नर्वेको उत्तरी तटनजिकै माझीहरूसँग नजिकिन खोज्दा उक्त रहस्यमय ह्वेल पहिलो पटक सार्वजनिक चासोको विषय बनेको थियो।“त्यो ह्वेल डुङ्गामा जीउ रगड्न आयो,” एक माझीले भनेका छन् । उक्त ह्वेलको टाउको मुनिको भागमा पट्टी बाँधिएको थियो। त्यसमा क्यामरा राख्ने ठाउँ थियो र अङ्ग्रेजीमा “सेन्ट पिटर्स्बर्गको उपकरण“ लेखिएको थियो। त्यो ह्वेल हामाफेस्ट बन्दरगाह नजिकै पानीमा गयो र कैयौँ महिनासम्म त्यहीँ बस्यो। प्छि मृत भेटियो । 

नर्वेका स्थानीयले ह्वेलको नाम रुसी राष्ट्रपति  भ्दादिमिर पुटिनको नामबाट ’ह्वाल्दिमिर’ राखिदिएका बताइएको छ । 

ह्वाल्दिमिर पहिलो पटक इन्गोया टापुनजिकै अप्रिल २०१९ मा नर्वेली डुङ्गाहरूको छेउमा पुगेको थियो।
उक्त स्थान रुसी जलसेनाको ’नोर्दर्न फ्लीट’को आधारस्थल रहेको मुर्मान्स्क क्षेत्रबाट ४१५ किलोमिटर टाढा छ।आर्क्टिटक क्षेत्रबाट दक्षिणमा त्यति टाढा बलूगा ह्वेल देखा परेपछि त्यसप्रति सबैको ध्यान गएको थियो । 
 

प्रतिक्रिया