दुबै सदनमा बहुमत भएपनि ट्रम्पले चाहेजस्तो गर्न सक्दैनन् !

एजेन्सी । नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट  अमेरिकामा राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदनमा बहुमत कायम गरेपनि उनले चाहेका काम सहजै भने गर्न सक्ने छैनन् । 

देशको शासन र सत्ताका सबै संरचनामा उनको पूर्ण नियन्त्रण कायम हुने निश्चित त छनै तर उनले चाहेजस्तै हरेक कुरा हुन भने नसक्ने बताइएको छ । कारण त्यहाँ विधेयकहरूमाथिको बहसलाई विलम्ब गराउन प्रयोग गरिने ‘फिलिबस्टर’ निष्क्रिय पार्न कुनै पनि पक्षलाई ६० मतको आवश्यकता पर्छ । यसमा ट्रम्पले सधै आफ्नै रिपब्लिकन पार्टीका सांसदको सहयोग नपाउन सक्छन् ।

अमेरिकाको माथिल्लो सदनलाई ‘सिनेट’ र तल्लो सदनलाई ‘हाउस अफ रेप्रिजेन्टटिभ्स’ भनिन्छ । सिनेटमा यसपालि स्पष्ट बहुमत भए पनि कानुन निर्माणमा विलम्ब गराउन सक्ने प्रयासलाई विफल तुल्याउने ६० सीट ट्रम्पले जुटाउन सक्ने छैनन्। त्यसको अर्थ कुनै पनि दलको सिनेटमा साधारण बहुमत भए पनि उसलाई विधेयक अनुमोदन गराउन अर्को पक्षको पनि सहमति चाहिन्छ । 

जस्तै रिपब्लिकनहरूले हिजो बुधबार  जोन थ्यूनलाई सिनेटमा आफ्नो दलका नेता छाने। यद्यपि ट्रम्प फ्लोरिडाका सांसद रिक स्कटको पक्षमा भएको ठानिएको थियो। रिपब्लिकन सिनेटरहरूले थ्यूनलाई नेता छानेकाले ट्रम्पले सधैँ आफूले चाहेको कुरा गर्न पाउँदैनन् भन्ने सङ्केत दिएको छ ।

यद्यपि उनका साझेदार माइक जोन्सन भने पुनः तल्लो सदन ’हाउस अफ रेप्रिजेन्टटिभ्स’का सभामुख बनेका छन्। ट्रम्पले स्कटलाई खुलेर अनुमोदन नगरेको भए पनि कतिपयले यो कदमलाई केही सांसदहरूले आफ्नो स्वतन्त्रता अभ्यास गरिरहेको अर्थ लगाएका छन्।

प्रतिक्रिया