‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
काठमाडौं । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिन सम्म आइपुग्दा २७ करोड सङ्कलन गरेको जानकारी दिए । उनले भने, “हाम्रो गाउँघरको मौलिक कथालाई नेपाल सँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामी सँग छैन, यस चलचित्र मार्फत हामीले विदेशी चलचित्र सँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शक सम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।”
उनले चलचित्रले मङ्गलबार सम्म २५ करोड ३ लाख र बुधबार २ करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा समेत निस्किएको छ । निर्माता पौडेलले आज देखि पूर्व बाट शुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए ।
“हामी गाईघाट बाट भ्रमण शुरु गर्दैछौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिनेछौँ, उहाँहरुको मायाले हामी मात्र नभइ नयाँ निर्मातालाई पनि हौसला मिलेको छ”, निर्माता पौडेलले भने ।
उक्त भ्रमणमा निर्माता पौडेल सँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइली लगायत छन् । यो चलचित्रले एकै दिन ३ करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा ४ सय ६५ भन्दा बढी सो पाएको रेकर्ड समेत बनाएको छ ।
यस अगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले २३ करोड ५० लाखको व्यापार गरेको बताइएको छ ।
रासस
प्रतिक्रिया