कोशी ब्यारेजको ५६ मध्ये ४१ वटा ढोका खुला, श्रीलङ्का टापुमा तीव्र रूपमा कटान

सप्तकोशीमा पानीको बहाव घट्दै गएपछि कोशी ब्यारेजको ५६ मध्ये ४१ ढोका खुला गरिएको छ । सोमबार बिहान नदीको जलस्तर बढेर चार लाख ६२ हजार क्युसेक प्रतिसेकेन्ड नाघेपछि ५६ वटै ढोका खोलिएको थियो । अहिले नदीको बहाव घट्दो क्रममा रहेकाले ४१ वटा मात्रै ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पछिल्लो समय कोशीले धार परिवर्तन भएर दक्षिणतर्फ कोशीको बहाव कायम रहँदा सप्तरीस्थित पश्चिमी तटबन्धमा दबाब बढेको छ । जसका कारण हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झन्डै चार सय घर जोखिममा छन । बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो । कटान भएसँगै श्रीलङ्का टापुका एक दर्जन घर सार्न सुरु गरिएको छ । अहिले १ किलो मिटर भन्दा बढी कटान भइसकेको छ । श्रीलङ्का टापुको चिलैया र गरैया क्षेत्रमा कोसीले कटान गरिहरेको छ । श्रीलङ्का टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा रहेका छन । सप्तकोसी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, कोसी उदयपुरको बेलका नगरपालिका र सप्तरीको कंकालिनी हनुमान नगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा रहेका छन् । 

प्रतिक्रिया