लुम्बिनीका नगरपालिका र चीनको देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव

प्रेमनारायण आचार्य 

अर्घाखाँची । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा  रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासंग मितेरी सम्वन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राखेका छन् । 

देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो समेत दिए । यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुको विचमा मितेरी सम्वन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राखेका भ्रमण दलमा सहभागि मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । 

देयाङ चीनको औद्योगिक सहर हो । जहाँ ठूला कम्पनीहरु प्रमुख रुपमा सञ्चालनमा छन् । देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारीक छलफल कार्यक्रम समेत राखेको थियो । 

जुन कार्यक्रममा युरोप,मध्यपुर्व, एसिया,दक्षिण एसिया लगायतका मुलुकका प्रतिनिधिहरु सहभागि थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानीय तहसंग मितेरी सम्वन्ध कायम गर्ने प्रस्ताव अघि सार्दै प्रदेश सरकारले त्यसमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीन दिने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य सहित ७ सदस्य प्रतिनिधि मण्डल चीन गएको हो । 
 

प्रतिक्रिया