कागवेनीमा आएको बाढीले एक अर्बको क्षति पुगेको अनुमान, ३५ घर परिवार विस्थापित
पूर्वसूचना छिटो प्राप्त हुँदा मुस्ताङको कागबेनीमा ठुलो जिउधनको क्षति हुनबाट जोगिएको छ । माथिल्लो लेकको जोङगाउँबाट ठूलो पानी र बाढी आएको जानकारी कागबेनीका बासिन्दालाई गराउन सकेका कारण आईतबार रातीको बाढीमा कागवेनीमा मानवीय क्षति हुन नपाएको हो । घरपझोङ गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बासिन्दालाई तत्कालै बाढीको जानकारी गराएकाले गाउँलेहरुले सबै सुरक्षित स्थानमा पुगेको बताइएको छ । गाउँलेले महत्वपुर्ण सामाग्री पैसा र गरगहना समेत निकाल्न भ्याएको प्रशासनले जनाएको छ । भौतिक पूर्वाधार तथा पशुधन भने बाढीले बगाएको छ । ज्यान जोगिएपनि लेदो बाढीले भत्किएका र पुरिएका एक सय घरपरिवार त्रासमा छन् । विस्थापितलाई सुरक्षित स्थानमा राखिएको छ । बारागुङका ३५ घर क्षतिग्रस्त भएका छन । बाढीले होटल, विद्यालयका छात्रावास, गोठ र धर्मशाला गरेर करिब ३५ घरमा क्षति पुगेको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशुचौपाया एवं सवारीसाधन हेर्दा एक अर्ब हाराहारीको क्षति भएको हुन सक्ने अनुमान प्रशासनले जनाएको छ । बाढीले गाउँको शिरमा रहेको लोमाथाङ जाने पक्की पुल, तीन वटा काठेपुल र एउटा झोलुङ्गे पुल बगाएको छ । खानेपानीका संरचना र बिजुलीका पोल ढलेपछि विद्युत् अवरुद्ध भएको छ । एउटा वडा कार्यालय भवन पनि बाढीले बगाएको छ । बाढीपछि मुस्ताङमा काम गर्न पुगेका १ सय ५० जना मजदुरको पनि बिचल्ली भएको छ । अलपत्र परेका मजदुरलाई जोमसोम पु–याएर समाज घरमा खानेबस्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया